निषेधित क्षेत्र तोडेर कोशी प्रदेश सचिवालय अगाडि प्रदर्शन गर्ने २० भन्दा धेरै पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ

काठमाडौं, १४ जेठ । कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ परेका छन् । विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्ने २० जना भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दैछ । बैठकअघि कोशी प्रदेश नामकरणको विरोधमा प्रदेश–१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदर्शन गरेको हो ।

प्रदर्शनलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हिजो बिहान ६ बजेदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा लागू गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।

प्रदेश सभा पूर्वमा देवकोटा चोकबाट पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकबाट दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकबाट पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया