रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपतिले गृहमा फिर्ता पठायो
अखबार टुडे
प्रकाशित:
२०८०, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको सजाय माफी मिनाहा दिने फाइल राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको छ ।

चौधरीलाई माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयले आज शुक्रवार गृह मन्त्रालयमा फिर्ता पठाएको हो । प्रचलित कानुन बमोजिम र अदालतबाट स्थापित नजिर प्रतिकूल नहुने गरी निर्णय गर्नू भन्दै सरकारको प्रस्ताव फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यही घटनामा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएका चौधरीलाई उच्च र सर्वोच्च अदालतले पनि दोषी ठह¥याउँदै जन्मकैदको सजाय सुनाएका थिए ।

चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयबाट सजाय माफी दिएर छुटाउने सरकारको योजनाअनुसार गृह मन्त्रालयले केही दिनअघि चौधरीको फाइल राष्ट्रपतिको कार्यालयमा पठाएको थियो ।

उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

प्रतिक्रिया