संसदमा एमालेको अवरोध : के हो पशुपतिनाथ मन्दिरको जलहरी विवाद ?
अखबार टुडे
प्रकाशित:
२०८०, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा जेठ १० गते (मंगलबार)को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गरेका थिए ।

सांसद दाहालले भनेका थिए, ‘उहाँ (केपी ओली) सरकारमा बस्दाखेरी कति भ्रष्टचारका काण्डहरु आए । यति, ओम्नी, स्वास्थ सामग्रीका २ अर्ब भ्रष्टचार । त्यति मात्र होइन पशुपतिको जल्लाहरी लगाउँदा पनि सुनको लगाउने भनेर पित्तल लाएर गरेका सयौँ भ्रष्टचारहरु छन् ।’

यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा एमाले सांसदहरुले आपत्ति जनाएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लेखनाथ दाहालले प्रधानमन्त्री छँदा केपी ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेको भनेर लगाएको आरोप तथ्यहीन र आधारहीन रहेको बताए ।

उनले त्यसबारेमा सरकारको जवाफ मात्रै मागेनन्, दाहालको सो अभिव्यक्ति संसद्को रेकर्डबाट पनि हटाउन माग गरे । संसद्को रेकर्डबाट नहटाएसम्म र सरकारले जवाफ नदिएसम्म एक इन्च पनि संसद् अघि बढ्न नदिने उनले बताए ।

उनीपछि बोलेका एमाले सांसद सुवास नेम्वाङले केपी ओलीमाथि सांसद दाहालको टिप्पणी गैरजिम्मेवार रहेको र पशुपतिको जलहरी पित्तलको भन्ने गम्भीर आरोप बोकेर संसदमा भाग लिन नसक्ने बताए । उनले सो अभिव्यक्ति सच्याउन माग गरे ।

त्यसपछि सभामुखले २० मिनेटका लागि बैठक रोके । तर बैठक अझै सुरु भएको छैन । एमाले सांदहरुले उक्र अभिव्यक्ति दिने माओवादी सांसदले माफी नमागेसम्म संसद चल्न नदिने अडान लिएपछि बैठक सुचारु हुन नसकेको हो । अहिले पनि सभामुख र प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल चलिरहेको छ ।

आज सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफलमा भाग लिने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको थियो । सरकारको नीति तथा कार्यक्रममाथि गत जेठ ७ गतेदेखि संसदमा सांसदहरूले उठाएका प्रश्नका उत्तर दिने तयारीमा प्रधानमन्त्री रहेका थिए ।

पशुपतिनाथ मन्दिरको जलहरी विवाद के हो ?

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेपछि पशुपति नाथको मन्दिरको गर्भ गृहमा चाँदीको स्थानमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।

त्यसपछि जलहरी निर्माण प्रक्रिया अघि बढेको थियो । २०७७ फागुन १२ गते राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको शिवलिङ्गमा ९६ किलोको सुनको जलहरी राखिएको थियो ।

त्यो बेला यो विषयमा निकै विवाद समेत भएको थियो । जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शन विपरीत भएको तर्कसहित विभिन्न पक्षहरूबाट विरोध पनि भएको थियो । पूर्व वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले सर्वोच्चमा मुद्दा समेत दायर गरेका थिए । जलहरी राखिसकेपछि सर्वोच्चले तत्काल जलहरी नराख्न भन्दै अन्तरिम आदेश समेत दिएको थियो ।

महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनमा जलहरी बनाउने क्रममा केही सुन हिनामिना भएको विषय उठाएको छ । महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू.७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण (१० किलो ९७६ ग्राम) रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’

पुशपति क्षेत्र विकास कोषले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि उक्त वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू.८० करोड ११ हजारमा खरिद गरेको थियो । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको भनिएको थियो ।

यो सुनमध्ये ९६ किलो ८२२ ग्राम जलहरी लगाउन खर्च गरिएको थियो भने बाँकी १० किलो ९७६ ग्राम रिङ बनाउन खर्च गरिएको बताइएको थियो । महालेखाले बाँकी रहेको सबै १० किलो ९७६ ग्राम नै रिङ बनाउनमा खर्च भएको पुष्टि हुने विवरण पेस नभएको बताएको थियो। रिङ बनाउन खर्च भएको सुनमध्ये केही अपचलन भएको हुनसक्न आशंका महालेखाले गरेको हो।

प्रतिक्रिया