काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार आरोप लागेपछि त्यसको विरोधमा सांसदहरुले अवरुद्ध गरेको संसद बैठक अझै सुरु भएको छैन । एमाले सांसदहरुले नाराबाजीपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
शुक्रबार मध्यान्ह बैठक सुरु भएलगतै पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा एमाले सांसदहरुले आपत्ति जनाएका थिए ।
यही गएको १० जेठमा सांसद दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए । त्यसमा आपत्ति जनाएका एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनुपर्ने बताएका छन् । उनले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्नेसमेत माग गरे ।
सभामुखले यसबारे सरकारले जवाफ दिने भन्दै बैठक सुचारुका लागि सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए । त्यही बेला माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संसदमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।
संसद बैठक स्थगित भएपछि सभामुख घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् । छलफलमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौलाले माओवादी सांसदले माफी माग्नुपर्ने माग गरेका थिए ।
तर, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गर्दै एमालेले पनि के हो प्रष्ट हुनुपर्ने बताएका छन् । जसका कारण माओवादी सांसदले माफी नमागेसम्म संसद चल्न नदिने अडान लिएपछि बैठक सुचारु हुन नसकेको हो । अहिले पनि सभामुख र प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल चलिरहेको छ ।