फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसद्वारा अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा
अखबार टुडे
प्रकाशित:
२०८०, ११ जेष्ठ

काठमाडौं, ११ जेठ (एजेन्सी) । सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका रोन डेसान्टिसले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखिको अनुमानलाई सही साबित गर्दै रोनले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

निकै लामो समयदेखि उनी राष्ट्रपति पदको आगामी निर्वाचनमा उम्मेदवार बन्ने कुरा चर्चामा थियो । अन्ततः सामाजिक सञ्जाल ट्ीटरको प्रत्यक्ष प्रसारणमार्फत रोनले उम्मेदवार घोषणा गरेका हुन् ।

‘राष्ट्रपति पदको आगामी निर्वाचनका लागि म अगाडि आएको छु । अमेरिकालाई कुशल नेतृत्व प्रदान गर्दै सही दिशा प्रदान गर्न प्रतिबद्ध पनि छु,’ राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै रोनले भनेका छन् । उनले शैक्षिक सुधारको विषयलाई आफ्नो मुख्य मुद्दा बनाएका छन् ।

उनले आफूले मात्र आगामी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनलाई चुनौती दिन सक्ने दाबी गरेका छन् । ४४ वर्षीय रोन अमेरिकी सेनाका पूर्वअधिकारी हुन् । उनी अहिले फ्लोरिडाका ४६औँ गभर्नर पनि हुन् । उनले सन् २०१९ देखि उक्त पद समाल्दै आएका छन् ।

आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाटै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि उम्मेदवार बन्ने दौडमा छन् । त्यसैले पार्टीभित्र फ्लोरिडाका गभर्नर रोनका लागि ट्रम्प नै सबैभन्दा ठूलो चुनौती बन्दै आएका छन् ।

अमेरिकी राष्ट्रिय राजनीतिमा पनि रोन चिरपरिचित अनुहार हुन् । उनी सन् २०१२ मा पहिलो पटक अमेरिकी संसद्को तल्लो सदनमा निर्वाचित भएका थिए । सन् २०१८ मा सिनेटर बन्ने दौडमा असफल भएपछि उनी फ्लोरिडाको गभर्नरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया