निगमले क्वालालाम्पुर-भैरहवाको हवाई भाडा घटाएर ११ हजार ४६१ रुपैयाँ तोक्यो
अखबार टुडे
प्रकाशित:
२०८०, ११ जेष्ठ

काठमाडौं, ११ जेठ । नेपाल वायु सेवा निगमले मलेसिया–भैरहवा उडानका लागि प्रमोशनल भाडा घटाएको छ । यसअघि निगमले क्वालालाम्पुर–भैरहवा उडानका लागि १२ हजार ७ सय रुपैयाँ तोकेको थियो ।

तर निगमले यस रुटको भाडा घटाएर ११ हजार ४६१ रुपैयाँ तोकेको हो । निगमले यही जेठ २९ (जुन १२)बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गर्दैछ ।

काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ । त्यसका लागि निगमले टिकट बुकिङ पनि खुलाइसकेको छ । भैरहवाबाट तत्कालका लागि निगमले सातामा एक उडान(मंगलबार) गर्नेछ ।

क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने मात्र १२ हजार ३४६ रुपैयाँ तोकिएको छ । यसअघि सार्वजनिक यो रुटको भाडादर १४ हजार ७२० रुपैयाँ थियो । यस रुटमा यात्रुले ४५ किलो ब्यागेज निःशुल्क बोक्न सक्नेछन् ।

प्रतिक्रिया