कोशीमा विराटनगर केन्द्रित आन्दोलनको घोषणा, पहिचान पक्षधरलाई वार्तामा बोलाउन कांग्रेसको माग
अखबार टुडे
प्रकाशित:
२०८०, ११ जेष्ठ

विराटनगर, ११ जेठ । प्रदेश नामकरणको विरोधमा विराटनगर केन्द्रित आन्दोलनको घोषणा भएको छ । प्रदेशको नाम पहिचानका आधारमा पुनः नामाङ्कनको माग गर्दै आएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेको हो ।

१४ जेठबाट प्रदेशसभा सचिवालय क्षेत्रमा केन्द्रित रहेर आन्दोलन गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ । फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । आन्दोलनरत उनीहरुले कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरु र दलका शीर्ष नेताहरुलाई बहिष्कार गर्ने घोषण गरिसकेका छन् ।

त्यसैगरी सांसद र शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरु सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरुमा विरोध गर्दै आएका छन् । कोशी नामकरणको विरोधमा आन्दोलन हुँदा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने कयौँ आन्दोलनकारी र प्रहरी घाइते भएका छन् ।

यसैबीच नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले आन्दोलनरत पहिचान पक्षधरलाई तत्काल वार्तामा बोलाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै पहिचानका पक्षलाई बार्तामा बोलाउन प्रदेश सरकार समक्ष माग गरेको हो ।

‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालीन प्रदेश १ ले नाम राख्न सकिरहेको थिएन, नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो,’ कांग्रेस संसदीय दलले भनेको छ,‘‘कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाइ उचित मागहरुलाई यथासक्य सम्बोधन गर्न हुन ध्यानाकर्षण गराउँदछौं ।’

कांग्रेसले कोशी प्रदेश नामाकरणको विषयलाई लिएर आन्दोलनरत प्रदेश नम्बर १ नामांकन संघर्ष समितिलाई पनि शान्तिपूर्ण र संयमित भएर आफ्ना मागहरु राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया