बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ
अखबार टुडे
प्रकाशित:
२०८०, ११ जेष्ठ

काठमाडौं, ११ जेठ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताएका छन् ।

बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए ।

आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पती कमाउने काम सह्य नहुने बताउँदै उनले भने, ‘अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । मैले नेपालप्रहरीलाई राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा निष्पक्ष छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन की भनेर अरु प्रमाणहरु पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

उनले राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताए । उनले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए । उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताए ।

प्रतिक्रिया