
काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा जोडिएकाहरूको विशेष संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरेका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै लामिछानेले राज्यका अनुसन्धान गर्ने कुनै निकायको विश्वास गर्न सकिने अवस्था नभएको भन्दै संसदीय समिति बनाएर निष्पक्ष ढङ्गले छानबिन गर्न माग गरेका हुन् ।
उनले भने– ‘भ्रष्टाचार विषयलाई हामीले बारम्बार कुरा उठाउँदै आएका छौँ । ३ राजनीतिक दल बसेर खुसुर खुसुर गरेको विषयमा आशङ्का व्यक्त गर्दै आइरहेका छौँ । राज्यका पदाधिकारीहरू, अनुसन्धान गर्ने त्यसका निकायका प्रमुखहरूको नाम आइरहेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएका यस्ता विषय आइरहेका छन् । त्यसकारण यो विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ ।’
यो प्रकरणले नेपालको ठुलो अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै लामिछानेले नाम जोडिएकाहरुलाई छानबिनको दायरामा ल्याउन माग गरे । उनले गृहमन्त्रीले प्रधानमन्त्रीले मुटु दह्रो छ भनेको बताउँदै उनीहरूको मुटु दह्रो छ कि छैन कहाँ गएर चेक गर्ने ? भन्दै प्रश्न गरे । उनले भने, ‘प्रधानमन्त्रीजी, अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने हो भन्नुस् । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ ।’
