शरणार्थी प्रकरणमा उच्च राजनीतिकदेखि प्रहरी नेतृत्व नै संलग्न, कसले कति रकम बुझे ?
अखबार टुडे
प्रकाशित:
२०८०, १० जेष्ठ

काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा देशको उच्च राजनीतिक, प्रशासनिक र प्रहरी नेतृत्व नै संलग्न रहेको देखिएको छ । यो प्रकरणमा पक्राउ परेका १६ जना मध्ये गिरोहका नाइकेहरुले दिएको बयानले थप उच्च राजनीतिकदेखि प्रहरी नेतृत्वसम्मको नाम जोडिएको हो ।

समाचारहरु प्रकाशित भए अुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव, ओलीका सल्लाहकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्व गृहसचिव प्रेमकुमार राई, प्रहरीका आईजीपी वसन्त कुँवर समेतको नाम यस प्रकरणमा जोडिएको छ ।

त्यति मात्रै नभइ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म लेनदेनका भएको खुलासा भएको छ । नक्कली शरणार्थी प्रकरणका मूख्य नाइके भनिएका सानु भण्डारीको बयानमा सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको बयान दिएका हुन् ।

यस प्रकरणमा सबैभन्दा बढी रकम लिनेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार ईन्द्रजित राइ देखिएका छन् । सानु भण्डारीले दिएको बयान अनुसार राइले साढे पाँच करोड बुझेका छन् भने उनका छोरा निरजले १ करोड ५० लाख रुपैयाँ बुझेको उल्लेख छ । तत्कालीन गृह सचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत नै १ करोड रुपैयाँ दिएको भण्डारीको दाबी छ ।

टोपबहादुर रायमाझीलाई आफैँले १ करोड ६० लाख र छोरा सन्दीपको खातामा थप ४० लाख रुपैयाँ हालिदिएको बयानमा उल्लेख छ । २०७६ साल असारमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जीसी मार्फत ओलीका स्वकीय सचिव राजेश वज्राचार्यलाई १ करोड रुपैयाँ प्रधानमन्त्री निवास बालुवाटारमै बुझाएको भण्डारीको दाबी छ ।

ओलीका सल्लाहकारद्वय अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले भने मन्त्री क्वार्टरमा १/१ करोड बुझेको दाबी छ । यस्तै, रामबहादुर थापाका छोरा र पत्नीले पाँच करोड बुझेको दाबी पनि भण्डारीले गरेका छन् । थापा पत्नी नैनकलालाई मन्त्री क्वार्टरमै पुगेर तीन करोड बुझाएको, थापाका छोरा प्रतीकले पछि बाहिर रेष्टुराँमा थप एक करोड बुझेको र नैनकलालाई पनि थप एक करोड दिएको बयानमा उल्लेख छ ।

यस्तै तत्कालीन गृहमन्त्री खाँणलाई आफैँले ३० लाख दिएको र गृह सचिव पाण्डेमार्फत थप ८९ लाख ५० हजार रुपैयाँ दिएको पनि भण्डारीको बयानमा उल्लेख छ । तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालय र सिंहदरबार परिसरमा रकम बुझेको र उनलाई पटक–पटक गरी १ करोड २४ लाख ५० हजार रुपैयाँ दिएको तथा उनका सुरक्षा गार्ड मार्फत २५ लाख दिएको पनि भण्डारीको दाबी छ ।

गिरोहका अर्का मूख्य व्यक्ति केशव दुलालले भने पछिल्लो पटक बयान फेरेको प्रहरीले बताएका छन् । पक्राउ परेपछि तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले हिरासतबाटै बालकृष्ण खाँणका सहयोगी नरेन्द्र केसीलाई पत्र लेखी दुलालको बयान फेराउन सुझाव दिएको फेला परेको र त्यसपछि दुलाले पहिलेको भन्दा फरक बयान दिएको पनि प्रहरीले बताएको छ । तर, दुलालको मोबाइलमा रहेका सन्देश, ह्वाट्स् एप, भाइबरमा रहेका सन्देश तथा अडियो रेकर्ड भण्डारीको बयानसँग मिलेको प्रहरी स्रोतको भनाइ छ ।

यस प्रकरणमा नेपाल प्रहरीका वहालवाला महानिरीक्षक बसन्त कुँवर समेत तानिने अवस्था देखिएको छ । प्रकरणको अनुसन्धानका क्रममा भेटिएका प्रमाणहरुले आइजिपी कुँवरले आफू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा गत वर्ष नै परेको उजुरीको अनुसन्धान गर्नुका सट्टा फाइल नै गायब बनाएको पाइएको छ । आइजीपी कुँवर पूर्वगृहमन्त्री खाँणलाई जोगाउन भरपुर प्रयासमा लागेको र पक्राउ परिसकेका तत्कालिन गृहसचिव पाण्डे मार्फत गिरोहका सदस्यहरूसँग समन्वय गराएको पनि खुलेको छ ।

प्रहरीले यो प्रकरणमा ५८औं दिन आफ्नो अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा थप जोडिएर आएकाहरुलाई पनि अनुसन्धान गरिनुपर्ने चौतर्फी दबाव बढेको छ । प्रहरी हिरासतमा रहेका १६ जनासहित ३३ जनालाई प्रतिवादी बनाइएको छ भने २७ करोड ८४ लाखबढी विगो दाबी गरिएको छ ।

प्रतिक्रिया