काठमाडौं, ९ जेठ (एजेन्सी) । हलिउड अभिनेता रे स्टिभेन्सनको ५८ बर्षको उमेरमा निधन भएको छ । ‘आरआरआर’, ‘थोर’, ‘डाइभर्जेन्ट’ फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार निधन भएको हो ।
स्टिभेन्सनका पब्लिशिस्ट भ्यू प्वाइन्टल उनको निधनको पुष्टि गरेका छन् । यद्यपि, उनको निधन के कारणले भएको हो भन्ने बारेमा भने विस्तृत जानकारी दिएका छैनन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इटालीको समुद्री किनामा फिल्म छायांकनको क्रममा स्वास्थ्य बिग्रिएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
उनी एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ का अभिनेताको रुपमासमेत चिनिन्छन् । उनले यस दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गरेका थिए ।
यसबाहेक उनलाई हलिउडको चर्चित मार्वल फिल्म ‘थोर’मा समेत देख्न सकिन्छ । उनले डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा थिए ।
२५ मे १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मिएका स्टिभेन्सनले १९९० को दशकको प्रारम्भमा युरोपेली टिभी शृंखला र टेलिफिल्मबाट कला यात्रा सुरु गरेका थिए ।
