बर्नावी बनिन् अन्तरिक्ष स्टेशनमा पुग्ने पहिलो अरबी महिला
अखबार टुडे
प्रकाशित:
२०८०, ९ जेष्ठ

काठमाडौं, ९ जेठ (एजेन्सी) । पहिलो पटक एक अरबी महिला अन्तरीक्षमा पुगेकी छन्। साउदी अरबकी रेयाना बर्नावी अमेरिकाबाट आइतबार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन– ९ रकेट मार्फत पठाइएको एक्सिओम स्पेसबाट उनी अन्तरीक्षमा पुगेकी हुन् ।

एक्सिओम स्पेसको यो दोस्रो निजी मिसनमा साउदीका अर्का एक पुरुष पनि सहभागी छन्। बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने छन् । बायोमेडिकल वैज्ञानिक रहेकी बर्नावीले अन्तरिक्षमा रहने अवधिमा स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्ने छ ।

बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिककी रुपमा गरेका कामको अनुभवका आधारमा आफ्ना केही प्रयोगहरु गर्ने भएकी छन् । उनले आफ्नो अन्तरिक्ष यात्राले मध्यपूर्वी एसियाली देशका महिलाहरुलाई जागरुक बनाउने विश्वास लिएकी छन् ।

उनीसँग अन्तरिक्षमा गएका अरबी पुरुष अली अलकर्नी अन्तरिक्ष पुग्ने दोस्रो अरबी पुरुष हुन् । उनी मिसन विशेषज्ञसमेत हुन्। उनीहरुसँग दुई अमेरिकी सहभागी छन्। उनीहरु स्पेस एक्सको ड्रागन अन्तरिक्षयानमार्फत् अन्तरिक्षमा पुगेका थिए ।

साउदी अरबमा महिलाहरुले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए । मानव अधिकारकर्मीहरुले पुरुष अभिभावकत्वको कानुनले यहाँ अझै पनि महिलाका अधिकारहरु सीमित गरेको आरोप लगाउने गरेका छन्।

प्रतिक्रिया