
काठमाडौं, ९ जेठ । नेपाली आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । योसँगै सर्वाधिक सगरमाथा आरोहण गर्ने कीर्तिमान फेरि कायम गरेका छन् ।
सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता मंगलबार बिहान २८ औं पटक सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।
कामिरिता आज बिहान ९ बजेर २३ मिनेटमा २८औँ पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । उनी एकै साता दुईपटक सगरमाथ आरोहण गर्न सफल भएका हुन् । यसअघि २०१९ मा पनि एक हप्तामा दुई पटक (२३ औ र २४ औ पटक) सगरमाथाको सफल आरोहण गर्न सफल भएका थिए ।
सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु गरेका थिए । सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् ।
उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् । शेर्पाले सबैभन्दा पहिले २०५१ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
