कर्ट कबेनले फुटाएको गितार झन्डै ७.९ करोडमा लिलाम
अखबार टुडे
प्रकाशित:
२०८०, ८ जेष्ठ

काठमाडौं, ८ जेठ । अमेरिकी रक ब्यान्ड ‘निर्भाना’का दिवङ्गत गायक कर्ट कबेनले फुटाइदिएको एउटा गितार झन्डै ६ लाख डलर (विद्यमान सटही दरका आधारमा नेपाली रुपैयाँ ७ करोड ८६ लाखजति) मा लिलाम भएको छ ।

कालो रङ्गको उक्त ‘फेन्डर स्ट्र्याटोक्यास्टर’ गितार सो रकमभन्दा १० गुना कममा विक्री हुने अपेक्षा गरिएको थियो । उक्त गितार ५,९६,००० हजार डलरमा बिक्री भएको हो ।

सन् १९९० को दशकको सुरुमा आफ्नो एल्बम ’नेभरमाइन्ड’का लागि काम गरिरहँदा उनले उक्त गितार बिगारेका थिए । उक्त गितारलाई मर्मत गरे पनि बजाउन मिल्ने अवस्थामा छैन ।

कबेनले सो गितार सन् ११९२ को उत्तर अमेरिका नेभरमाइन्ड साङ्गीतिक यात्राका क्रममा आफ्ना मित्र तथा सहकर्मी मार्क ल्यानिग्यानलाई दिएका थिए । ल्यानिगनको मृत्यु भइसक्यो ।

जुलिएन्स् अक्शनका कोडी फ्रेडेरिकले एएफपी समाचार संस्थासँग बताए अनुसार विगतमा उक्त गितार टोनी पाल्मरको स्वामित्वमा थियो । तर नयाँ खरिदकर्ताको पहिचान खुलिसकेको छैन ।

उनी रिसाहा थिए र आफ्नो सक्रिय सङ्गीतिक जीवनको बेला धेरैवटा गितार फुटाएका थिए । सन् १९९४ मा आत्महत्या गरेका कबेन सशक्त साङ्गीतिक प्रस्तुतिहरूका कारण चर्चित थिए ।

कबेनले सन् १९९३ को चर्चित एमटीभी प्रस्तुतिमा प्रयोग गरेको अकूस्टिक गितार दुई वर्षअघि ६० लाख अमेरिकी डलरमा बिक्री भएको थियो । उक्त वाद्ययन्त्र त्यति बेलासम्म लिलाममा सर्वाधिक मूल्य पाउने गितार बनेको थियो । रोड माइक्रोफोन्सका संस्थापिक पिटर फ्रीडम्यानले उक्त गितार किनेका थिए ।

प्रतिक्रिया