शरणार्थी प्रकरण : ३२ जनाविरुद्व तीन खालका मुद्दा चलाउन प्रहरीको सुझाव
अखबार टुडे
प्रकाशित:
२०८०, ८ जेष्ठ

काठमाडौं, ८ जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महिना लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका हाइप्रोफाइसहित १६ जना र फरार सूचीमा रहेका थप १६ जनामाथि तीनवटा मुद्दा लगाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

प्रहरीले ३२ जनाविरुद्व राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध कुसरमा कारबाही गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो । साथै प्रहरीले करिब २८ करोड रुपैयाँ बिगो भराउनुपर्ने रायसमेत पेस गरेको छ ।

आरोपितविरुद्ध मानवबेचबिखन, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, सार्वजनिक पदको दुरुपयोग, भ्रष्टाचारलगायत अरु कसुर पनि आकर्षित हुने देखिएको छ । प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदनलाई अब वकिल कार्यालयले दुई दिनभित्र अदालतमा मुद्दा दायर गर्नुपर्नेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगीमा संगल्न पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी पक्राउ परेका छन् ।

यस्तै, सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया