तामाकोसी पाँचौंका लागि सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण दिने, बाँकी इक्विटीबाट जुटाइने
अखबार टुडे
प्रकाशित:
२०८०, ८ जेष्ठ

काठमाडौं, ८ जेठ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत शेयर निष्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतवार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्धक तामाकोसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेको हो ।

सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै कार्यक्रममा मन्त्री बस्नेतले यसका लागि जलविद्युतको उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए । बस्नेतले खपत बढाउन र देशभित्र खपत गरी बाँकी भएको बिजुली निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयासहरू भइरहेको उल्लेख गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको बिजुली यहीँ खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए । भारत र बंगलादेश नेपालमा उत्पादित बिजुली किन्नका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशमा बिजुली बिक्री गर्दा बर्खायामको बिजुलीको राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरे ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी तामाकोसी पाँचौं निर्माण हुन लागेको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौंले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचनाहरू बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोसीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ । हाइड्रोमेकानिकल काम बाँकी रहेको छ । आयोजनाले आठ किलोमिटर सुरुङ, विद्युत् गृह, झन्डै दुई किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्ने छ ।

आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोट गर्न टेन्डर प्रक्रियामा रहेको छ । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भइसकेको छ । आयोजना निर्माणमा आवश्यक पर्ने झन्डै १ सय ३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ ।

आयोजनाबाट बर्सेनि ४९ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुने छ । माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने बिजुली बढेर ५४ करोड ३५ लाख युनिट पुग्ने छ । आयोजनाबाट उत्पादित बिजुली खरिद/बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।

प्रतिक्रिया