काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौँले सबैलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन् ।
यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा, पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, टङ्क गुरुङ, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।
संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पूरा हुँदैछ ।
जिल्ला सरकारी वकिल कार्यालयले ६० दिनभित्र मुद्दा दर्ता गर्न आफूहरुलाई अध्ययनका लागि पर्याप्त समय हुने गरी अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई ताकेता गरेको छ । प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको थियो । तर प्रतिवेदन प्राप्त नभएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेको भनाई छ ।