नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुस्, नत्र छक्का हानेर पठाइदिन्छौं : अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०८०, ७ जेष्ठ

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुकको मौजुदा समस्या समाधान नगर्ने भन्दै फिर्ता लिन आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा लामो समय बोल्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यू! प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्, फिर्ता लिनुहुन्न भने छक्का हानेर पठाइदिनुपर्छ, रिङ आउट ।’

उनले यो पारित गर्न योग्य नभएको बताए । उनले भने, ‘यस नीति कार्यक्रमले अब हुनेवाला केही छैन । यो पारित गर्न योग्य छैन, पारित गर्न हुँदैन ।’ उनले वर्तमान सरकारको नीति नै ‘नीति शून्य नीति’ रहेको बताए । ‘उद्देश्य छैन । कहाँ पुग्ने गन्तव्य छैन । कसरी जाने भन्ने मार्गचित्र छैन, सर्वत्र नीति, शून्य नीतिको अवस्था देखियो,’ उनले भने ।

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उम्काउन र निर्दोषलाई फसाउने प्रयास भइरहेको आरोप लगाए । ‘यो प्रकरणका दोषी कोही पनि छुट्नु हुँदैन । तर, अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ । यसमा मेरो खबरदारी छ,’ अध्यक्ष ओलीले भने, ‘दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास नगर्दा हुन्छ ।’ उनले नक्कली भुटानी शरणार्थी प्रकरण अझै भयावह रूपमा निस्किने बताए ।

प्रतिक्रिया