काठमाडौं, ५ जेठ । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको ओरोपमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।
बिहीबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणाार्थी नेता टेकनाथ रिजाल पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्ने आरोपितको संख्या १६ पुगेको हो । दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाण्डौबाट दुई दिनको म्याद थप भएको छ ।
यसअघि पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पा पक्राउ परिसकेका छन् ।
त्यस्तै, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र निरज राई अझै फरार छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनासँगको बयान सकिएको छ । पक्राउ परेका सबैको बयान सकेर प्रहरीले आइतवारसम्म रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि काठमाण्डौ जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोगपत्र तयार गर्नेछ । आउँदो मंगलबारमसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्नेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।