क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको पुष्टि भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, ४ जेष्ठ

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका लडाकुहरूलाई राखिएको क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको पुष्टि भए आफू जेल जान तयार रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रश्न उठाएपछि जवाफमा प्रधानमन्त्री प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको पुष्टि भए जेल जान तयार रहेको बताएका हुन् ।

उनले भने, ‘क्यान्टोन्मेन्टको कुरा पूर्वाग्रही र कपोलकल्पित छ भन्ने मेरो दृढ विश्वास छ। फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा म यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’

त्यतिबेला शान्ति सम्झौता भएर क्यान्टोन्मेन्टमा पूर्वजनुमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टोन्मेन्टको भौतिक पूर्वाधार र योद्धाहरुको रासन पानीका निम्ति भनेर राज्यबाट दिइएको रकम र त्यसको अडिट, त्यसको हिसाबकिताब, त्यहाँ को–को थिए, क–कसले लिए भन्ने कुरा सबै रेकर्ड रहेको उनले बताए ।

त्यतिबेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद र अर्थमन्त्री डा रामशरण महत समेतले रुजु गरिसकेपछि पटाक्षेप भइसकेको विषय भएको प्रधानमन्त्री प्रचण्डले बताए । यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए । २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया