काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ गरेका छन् । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर सिंहदरबारभित्रै बाट पक्राउ परेका हुन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहलाई गाडी प्रयोग गर्न अध्यक्ष मियाले उपलब्ध गराएको खुलासा भएको छ । इम्बोस्ड नम्बर बिएबी–१४०५ नम्बरको जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ । सो जिप भने प्रहरीले यसअघि नै आफ्नो नियन्त्रणमा लिइसकेको छ ।
अर्घाखाँची बालकोट–८ का मियाँ एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री हुँदा २०७५ पुस २९ गते हज कमिटीको अध्यक्षमा नियुक्त भएका थिए । शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सो प्रकरणमा अहिलेसम्म १५ जना प्रहरीको हिरासतमा छन् ।