
काठमाडौं, ४ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक विकल्पका रुपमा प्रस्तुत भएका पपुलिष्टहरुले संकट समाधान गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसुबमा लामो स्टाटस लेख्दै उनले पपुलिष्टहरुबाट समाजको रुपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन नसक्ने दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘पपुलिष्टहरुबाट समाजको रुपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्तैन । उनीहरुबाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाँका पपुलिष्ट आन्दोलनहरुको अवसान त्यसरी नै हुने गरेको छ ।’
सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रुपमा प्रस्तुत भएको र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आएको उनले बताएका छन् ।
देशमा कायम रहेको राजनीतिक अस्थिरता र आर्थिक–सामाजिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्बलाइरहेको भन्दै पोखरेलले त्यसप्रति चनाखो हुनु पर्ने बताएका छन् ।