काठमाडौं, ३ जेठ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्ेका छन् । बुधबार बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोड्ेका हुन् ।
सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा गएका कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर विश्वलाई सुरक्षित आरोहणको सन्देश दिएका छन् । इमाजिन नेपाल ट्रेक्स एण्ड एक्सिपीडिसन कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाका अनुसार कामीरिताको विश्वकीर्तिमान कायमसँगै यो याममा हालसम्म एक सयभन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् ।
कामीरिताले सगरमाथाको २७औँ पटक आरोहण गरेर विश्वलाई सकारात्मक सन्देश दिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बताए । ‘कामीरिता शेर्पाले सगरमाथाको २७ पटक आरोहण गरेर विश्वलाई सन्देश दिनुभएको छ’, उनले भने, ‘सगरमाथाको जति धेरै आरोहण भयो त्यति नै राम्रो सन्देश जान्छ, यसले आरोहण र आरोहीलाई हौसला मिलेको छ ।’
कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्ेका छन् । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, ती पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेको छन् ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।
यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।