जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने नाउपाको घोषणा
अखबार टुडे
प्रकाशित:
२०८०, ३ जेष्ठ

काठमाडौं, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ । रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नाउपाले नेपालबन्दसम्मको आन्दोलन घोषणा गरेको हो ।

नाउपाले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । यदि सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे अर्को विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ ।

वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्नुपर्ने बताएको छ । जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो राजनीतिक मुद्दा हो अदालती होइन । आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौं ।’

२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

कैलालीको टिकापुरमा आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु भएको थियो ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया