बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने, सुनकोशी-३ मा संयुक्त लगानी गर्ने सहमति
अखबार टुडे
प्रकाशित:
२०८०, ३ जेष्ठ

काठमाडौं, ३ जेठ । नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत भएको छ । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको हो ।

४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

तत्कालका लागि भारतको सिलगुडी करिडोरमा रहेको भारतीय ट्रान्समिसन लाइन प्रयोग गर्ने बंगलादेश र नेपाली पक्षको प्रस्ताव छ । त्यसका लागि भारतबाट सहमतिको वातावरण तयार गर्न नेपालले बंगलादेश र भारतसँग त्रिदेशीय छलफल अघि बढाउन निर्णयसमेत भएको छ ।

सोही बैठकमा ६८३ मेगावाट क्षमताको सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशको संयुक्त लगानी हुने र त्यस सम्बन्धी सम्झौता पत्रमा ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय भएको छ । नेपाल र बंगलादेशबीच छुट्टै डेडिकेटेड प्रसारण लाइन बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

प्रतिक्रिया