शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, अडियो नक्कली हो : कांग्रेस प्रवक्ता महत
अखबार टुडे
प्रकाशित:
२०८०, २ जेष्ठ

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सोसल मिडिया ट्रायल भइरहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान जारी रहे पनि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको दाबी गरेका हुन् ।

पत्रकार सम्मेलनमा डा. महतलाई पार्टी केन्द्रीय सदस्य र सांसदसमेत रहेकी मञ्जु खाणको अवस्था के हो ? भन्ने प्रश्नमा प्रवक्ता महतले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो न प्रमाणित छ । पहिल्यै यस्तो उस्तो भनेर सामाजिक सञ्जाल लगायत मिडियामा दोषीजसरी प्रस्तुत गनु राम्रो कुरा भएन । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई पूरा विश्वास छ । अडियो प्रकरण झूटो र नक्कली हो ।’

अनुसन्धानका क्रममा पक्राउ परेका बालकृष्ण खाँणले ‘आफू निर्दोष छु, साबित गर्छु’ भनेको पनि महतले बताए । घटनाको अनुसन्धान जारी रहेकाले ‘निर्दोष नफसून्, दोषी नउम्किऊन्’ भन्ने पक्षमा पार्टी रहेको प्रवक्ता महतले जनाए । खाँणले निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको पनि उनले बताए । पार्टीको बैठकमा महामन्त्रीहरूले कुनै असन्तुष्टि नराखेको पनि प्रवक्ता महतले बताए ।

प्रतिक्रिया