भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउँदैनौं : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, १ जेष्ठ

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन नसक्ने बताएका छन् ।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताए । उनले भने, ‘अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन सक्दैन । सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रूपमा लागेको छ ।’

उनले भ्रष्टाचारविरुद्ध आम जनताले गरेको खबरदारीप्रति पूर्ण सजग रहेको पनि बताएका छन् । उनले भने, ‘ आम जनताले भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं ।’

आफ्नो नेतृत्वमा सरकार बनेपछि सुरूदेखि नै अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएको प्रधानमन्त्रीको भनाइ छ । उनले भने, ‘सुशासन, समृद्धि तथा समाजिक न्याय लक्षित विभिन्न नीति र कार्यक्रमहरू कार्यान्वयन गरिएका छन् । सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र विचौलियाहरूबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको छ । विद्यालयहरुमा समयमै पुस्तक पुगेको छ । किसानहरूले बेलैमा मल पाउने गरी मलको आपूर्ति सुनिश्चित हुँदैछ ।’

प्रतिक्रिया