आजदेखि घरबाटै नो अब्जेक्सन सर्टिफिकेट लिन सकिने
अखबार टुडे
प्रकाशित:
२०८०, १ जेष्ठ

काठमाडौं, १ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिन सक्ने व्यवस्थाको सुरुवात गरेको छ ।

सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृतिपत्र लिन सक्ने व्यवस्थाको सुरुवात गरिएको हो । आजबाट लागू हुने गरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृतिपत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फारम भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्न सक्ने व्यवस्था सुरु हुनु प्रशंसनीय भएको बताए । उनले अबबाट विद्यार्थीहरूले घरबाटै एनओसी फारमका लागि लाग्ने शुल्क पनि तिर्न सक्ने व्यवस्था गरिएको बताए । यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेपछि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको उनले बताए ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आजबाट फेसलेस, पेपरलेस र क्यासलेसको सुरुवात हुनु नेपालीहरूका लागि खुसीको कुरा भएको बताए । उनले आफू नेपाललाई अब फेसलेस, पेपरलेस र क्यासलेस बनाउनुपर्छ भन्ने अभियानमा लागेको बताए । उनले अब अन्य निकायहरूले पनि आफ्ना सेवा अनलाइन प्रणालीबाट सुरु गर्नुपर्ने बताए ।

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्न सक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया