पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ बैशाख

काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार साँझ उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले टोपबहादुर र उनका छोरा सन्दीपविरूद्ध ११ दिनअघि पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ जारी भएपछि सुरुमा आफैँ उपस्थित हुने बताएपनि उनी नआएपछि प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो ।

उनका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरिसकेको छ । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए ।

यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेका छन् । प्रहरीले वैशाख २७ गते खाँण र उनका सहयोगी नरेन्द्र केसीलाई खाँणको निवासबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यस प्रकरणमा पूर्वगृहमन्त्री खाँण, उनका स्वकीय सचिव केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन् ।

यसैक्रममा प्रहरीले फरारको सूचीमा राखेका रायमाझी आइतबार पक्राउ परेका हुन् । इन्द्रजितका छोरा निरज र रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा अझै फरार छन् । प्रहरीले यस घटनाको अनुसन्धान ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया