बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ बैशाख

काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले प्रहरीलाई अनुमति दिएको छ ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाणसहितका १२ जनामाथिको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डौले थप समय हिरासतमा राख्न अनुमति मागेको थियो ।

यो प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजीत राईका छोरा निरज राई फरार रहेका छन् ।

यस्तै आज (आइतवार) नेपाली कांग्रेसका नेता एवम् पूर्वसभासद् आङटावा शेर्पा र पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरु पनि फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया