प्रमख तीन दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले प्रवेश पायो
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ बैशाख

काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रमख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रवेश पाएको छ । आइतबार बिहान बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले प्रवेश पाएको एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

उपनेता नेम्वाङले नक्कली भूटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरूबीचमा छलफल भएको बताएका छन् । उनले भने, ‘प्रसंगवश शरणार्थी प्रकरणबारे कुरा उठेको थियो । बैठकमा यो विषयमा तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निष्कर्षमा छौँ, त्यो संविधान कानुन बमोजिम निस्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ ।’

उपनेता नेम्वाङले शीर्ष नेताहरुको बैठकमा संसदीय गतिविधिहरु र विधेयकलाई अघि बढाउन समझदारी बनेको पनि बताए । नेम्वाङले शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमबारदेखि विषयगत समितिका बैठक र संघीय संसदको संयुक्त समिति र नियमावली बनाउनेबारे पनि सहमति जुटेको बताए । उनले सोमबारबाट संसदीय समिति चलायमान बनाउने र संसदबाट समितिमा गएका विधेयक पनि अघि बढाउने कुरामा सहमति भएको बताए ।

यसैगरी, शीर्ष नेताहरूको बैठकले प्रतिनिधिसभाका विषयगत समितिहरूमा संघीय संसदमा कायम रहेको सदस्य संख्याका आधारमा नेतृत्व दिने सहमति जुटेको पनि बताए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समितिसहित एक संयुक्त समिति र अर्को विषयगत समितिको नेतृत्व गर्ने सहमति भएको उनले बताए ।

प्रतिक्रिया