केन्यामा जिसस क्राइस्ट भेट्ने चाहनाले भोकै बस्दा २०० सय बढीको मृत्यु, छ सय बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ बैशाख

काठमाडौं, ३१ वैशाख (एजेन्सी) । केन्यामा इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टसँग भेट्ने चाहनाका कारण सयौँ व्यक्तिहरूले सामूहिक देहत्याग गरेका छन् । अहिलेसम्म सामूहिक देहत्याग गर्नेमध्ये २०१ जनाको शव भेटिएको हो ।

हिजो थप २२ जनाको शव भेटिएको थियो । शवहरूको पोस्टमार्टम गर्दा धेरैजसो भोकका कारण मरेको र केहीको घाँटी थिची हत्या गरेको देखिएको पाइएको छ । केन्याको दक्षिण–पश्चिम क्षेत्रमा रहेको शाकाहोला जंगलमा अझै शवहरू खोज्ने क्रम जारी छ । प्रहरी अधिकारी रोडाह ओनयाचनाका अनुसार अझै ६ सय व्यक्तिहरू बेपत्ता छन् ।

पल मकेन्जी नामक एक चर्चका पादरीले जिसससँग भेट्नका लागि भोकभोकै बस्नुपर्छ भनेर प्रवचन दिएका थिए र आफना सयौं अनुयायीहरुलाई भोकै बस्न बाध्य तुल्याएका थिए । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै गत महिना मुख्य अभियुक्त ठहर पादरी पल मकेन्जीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले आतंकवादसम्बन्धी मुद्दा चलाउने तयारी छ । तटीय क्षेत्र किलिफीमा मकेन्जीले ८ सय एकडको जमिनमा इसाई धर्म र जिसस क्राइस्टबारे प्रवचन दिन्थे । सो क्षेत्रमा मृत व्यक्तिहरूलाई गाडेको अवस्थामा भेटिएको हो ।

प्रतिक्रिया