काठमाडौं, २९ वैशाख । भ्रष्टाचारविरुद्ध विश्वव्यापी काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपाल च्याप्टरले भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको स्वागत गर्दै कुनै पनि बहानामा छानबिन प्रभावित नगर्न खबरदारी गरेको छ ।
टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले एक विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारको दबाबले छानबिन प्रभावित नगर्न सरकारलाई खबरदारी गरेको हो । ‘हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबाबबाट प्रभावित नहोस्। कुनै पनि बहानामा छानबीन शिथिल नहोस् र नरोकियोस्,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेस गर्ने प्रपञ्च नरचियोस् र अपराधीहरू जुनसुकै पद र तहका भए पनि तिनलाई हदैसम्मको कारबाही होस् ।’
आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असूली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लुट र मानव तस्करीको संगठित अपराध मात्र नभइ राज्य, नागरिक र मानवता विरुद्धको अक्षम्य अपराध भएको टीआईको टिप्पणी छ ।