काठमाडौं, २९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । शुक्रबार प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
मुख्यमन्त्री पाण्डले कांग्रेसका महेन्द्रध्वज जिसीलाई कृषि मन्त्री, दीपेन्द्र थापालाई उद्योग मन्त्री र जितप्रकाश आलेलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए । यसतै, माओवादीबाट रेशमबहादुर जुग्जाली भौतिक मन्त्री बनेका छन् ।
उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन् । गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
१५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीसहित सात सदस्यीय बनेको छ ।