काठमाडौं, २९ वैशाख । गण्डकी प्रदेशमा मन्त्रिपरिषद बिस्तार भएको छ । शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट १ र एकीकृत समाजवादीबाट १ जनालाई लिएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
मन्त्रालयको नाम भने शपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो ४ बजेका लागि तय भएको छ ।
गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
१५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीसहित सात सदस्यीय बनेको छ ।