पाकिस्तानका पूर्व विदेशमन्त्री महमूद कुरैशी पनि पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, २८ बैशाख

काठमाडौं, २८ वैशाख (एजेन्सी) । पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशीलाई पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री खान भ्रष्टाचार, आतकंवाद, अदालतको मानहानी, दंगालगायतको आरोपमा मंगलबार पक्राउ परेपछि उनी पनि पक्राउ परेका हुन् ।

पक्राउ पर्नु अघि कुरैशीले रेकर्ड गरिएको भिडियोमा भने, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी यसमा संलग्न हुनुपर्छ । आज इमरान खान हिरासतमा छन् । यसले उनको ज्यानलाई खतरा छ ।’

उनले पूर्वप्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन जारी राख्न भिडियोमार्फत आह्वान गरेका छन्। पाकिस्तानमा इमरान खान पक्राउ परेपछि हिंस्रक विरोध प्रदर्शन जारी छ । पाकिस्तानमा हिंसाका कारण १० जनाको ज्यान गइसकेको छ भने हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बुधवार अबेर राती देशवासीको नाममा सम्बोधनमा हिंसा गर्नेहरूलाई कडा चेतावनी दिएका छन् । शरिफले भने, ‘हिंसा गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिइनेछ ।’

प्रतिक्रिया