एनसेलको प्रमुख कार्यकारी अधिकृतमा जाब्बोर कायुमोभ नियुक्त
अखबार टुडे
प्रकाशित:
२०८०, २७ बैशाख

काठमाडौं, २७ वैशाख । एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् । एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो ।

उनले आज (वैशाख २७)बाट आफ्नो कार्यभार सम्हालेका छन् । यससँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा ग्रुपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा ग्रुप चिफ कर्पोरेट अफिसर’का रूपमा कार्यभार सम्हाल्नेछन् ।

जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ ।

एनसेलमा आवद्ध हुनु अघि, उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए र डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए ।

‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु । प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु । टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा गु्रपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पु¥याउन ध्यान केन्द्रित गर्नेछु,’ जाब्बोरले भने, ‘१ करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु ।’

पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस् लगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उनी चिनिन्छन् । उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । नयाँ प्रविधि र ग्राहककेन्द्रित नवीन सेवा–सुविधामा जाब्बोरको चासो छ । डिजिटल इनोभेसन, उच्च ग्राहक सन्तुष्टि र व्यावसायिक सफलता हासिल गर्नका लागि सहयोगी वातावरण अत्यावश्यक रहने उनको विश्वास छ ।

प्रतिक्रिया