पूर्वगृहमन्त्री खाण पक्राउपछि कांग्रेस नेताहरुले के भने ?
अखबार टुडे
प्रकाशित:
२०८०, २७ बैशाख

काठमाडौं, २७ वैशाख । शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसका नेताहरूले निष्पक्ष छानविनका लागि पार्टीले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । प्रहरीले खाणलाई चावहिलबाट पक्राउ गरेपछि कांग्रेस नेता शेखर कोइराला, प्रदीप पौडेल, रामहरि खतिवडा, महेन्द्र यादव, गगन थापालगायतले निष्पक्ष छानविनका लागि सहयोग गर्ने बताएका हुन् ।

कांग्रेस नेता शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । बुधबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले भने, ‘जो–जो दोषी हो उनीहरूलाई कारबाही हुनपर्छ । यसमा इफ र बटको कुरै छैन । उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले कांग्रेसले निष्पक्ष छानबिनका लागि सहयोग रहने बताए । उनले भने, ‘प्रहरीले अनुसन्धान गर्दै छ । अदालतले एउटा फैसला गर्ला । हामी निष्पक्ष छानबिनको पक्षमा छौँ ।’

यस्तै कांग्रेस नेता रामहरि खतिवडाले दोषीलाई उम्काउने खेलमा कांग्रेस नलाग्ने बताए । उनले भने, ‘यो हाम्रो मात्र चासोको विषय होइन । राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय हुन्छ । हामीले निष्पक्ष छानबिनका लागि अनुरोध गर्नुपर्छ । निर्दोषलाई फसाउने होइन र दोषीलाई बचाउने होइन भन्ने हाम्रो कुरा रहन्छ । दोषीलाई उम्काउने खेलमा कांग्रेस लाग्दैन ।’

सांसद प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसले अनुसन्धानमा सघाउनुपर्ने बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । यस प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्,’ उनले भने । सांसद पौडेलले कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्ने बताए ।

महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले भने, ‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस् । मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछुटोस् ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने प्रकरणमा अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। खाणसँगै पक्राउ परेका उनका स्वकिय सचिव नरेन्द्र केसी दुवैलाई आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर प्रहरीले अनुसन्धानका लागि म्याद लिने तयारी गरेको छ ।

प्रतिक्रिया