काठमाडौं, २७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले नै जारी गर्ने जरुरी पुर्जी थमाएर प्रकाउ गरेको छ । भाग्नसक्ने आशंकामा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिनुपहिले नै जरूरी पुर्जी थमाएर उनलाई पक्राउ गरेको हो ।
प्रहरीको टोली आज विहान उनलाई मैजुबहालस्थित निवासमा पक्राउ गर्न पुगेको थियो । खाणलाई पक्राउ गरेर अहिले उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकु ल्याइएको छ ।
साथै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको बताइएको छ । प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको थियो । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।
यस प्रकरणमा पक्राउ परेकाहरूले खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको नाममा करोडौँ रकम दिएको बयान दिएका छन् । यसको अडिओ समेत बाहिरिएको छ ।
यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार छन् ।
यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।