काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको बताउँदै भ्रष्टाचारलाई अन्त्य नगरिएसम्म नेपाली नागरिकले सुख र समृद्धिको दिन देख्न नपाउने बताए । उनले नागरिक सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा ’रेकर्ड’ बनाउने सकिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले लोडशेडिङको युगबाट बिजुली बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा बिजुली बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए । प्रधानमन्त्री प्रचण्डले काठमाण्डौ नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरे ।