कोशी नामकरणविरुद्ध थप आन्दोलनको घोषणा : शीर्ष नेतालाई हिँड्नेदेखि होटल बस्नसम्म नदिने
अखबार टुडे
प्रकाशित:
२०८०, २५ बैशाख

काठमाडौं, २५ वैशाख । कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरिएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रमहरुमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरु र दलका शीर्ष नेताहरुका विरुद्धमा विरोध जारी रहेको भूमिमा उनीहरूलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ । वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ ।

त्यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरूका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरु सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरुमा विरोधको कार्यक्रम गरिने भएको छ ।

नेताहरुलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरुलाई अनुरोध गर्ने समेत किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताए । त्यस्तै, वैशाख २८ गतेदेखि जिल्लाहरुमा आमसभा, सङ्घर्ष समिति बिस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जनाइएको छ ।

आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत् भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रित विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए ।

प्रतिक्रिया