
काठमाडौं, २५ वैशाख । स्वतनत्र सांसद् अमरेश सिंहले पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेस सर्लाहीका कार्यसमिति सदस्य समेत रहेका विकासकुमार ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।
उजुरीकर्ता ठाकुरले २०६३ मा अन्तरिम संसदमा मनोनीत हुनुपूर्व सिंह काठमाडौंको कीर्तिपुरमा दुई कोठे डेरामा बस्ने र बा१०प २३७९ नम्बरको मोटरसाइकल चढुने गरेकोमा १५ वर्षमा अनियमित ढंगले करोडौंको सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् ।
पैत्रिक सम्पत्ति बलरा नगरपालिकामा डेढ विघा जग्गाबाहेक अरु केही नरहेको र राजनीतिबाहेक अन्य कुनै पेसा व्यवसाय र आयस्रोत नभएकाले उनले आर्जन गरेको सम्पत्तिमाथि छानबिनको माग गरेका छन् ।
अन्तरिम संसदमा प्रवेशसँगै सर्लाहीमा घर बनाएको, जग्गा किनेको, काठमाडौं भैसेपाटीमा आलिसान महल बनाएको, आफू र आफन्तका नाममा करोडौंका घर बनाएको लगायतका आरोप ठाकुरले लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारविरुद्ध बोल्न नपाएको भन्दै कपडा खोलेर विरोध गरेका सांसद् अमरेश सिंहविरुद्ध आजै अख्तियारमा उजुरी परेको हो ।