नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, २४ बैशाख

काठमाडौं, २४ वैशाख । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपरधा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई शनिबार काठमाडौंको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार बलिया उत्तर प्रदेशका भरत प्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मीनादेवी गुप्ता र राजेश कुमार गुप्ता छन् ।

भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएका उनीहरूले झुट्टा विवरण पेस गरी नेपालको सिराहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर(जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूमाथि अनुसन्धान गरिएको र झुट्टा विवरण पेस गगरेर सक्कलै नेपाली नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया