औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, २४ बैशाख

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिबद्धता जनाए ।

उनले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताए । उनले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले विदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री दाहालले प्रतिभावान विद्यार्थी विदेश पलायन हुनबाट रोक्न विदेशी विश्वविद्यालयहरू नेपालमै सहज रूपमा खोल्न पाउने नीति बनाउने उद्घोष गरे ।

प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको बजेटका लागि नीति, कार्यक्रमको अन्तिम तयारीमा रहेको बताए । उनले आगामी वर्षको बजेटमा उत्पादन र रोजगारी वृद्धि गर्ने बताए ।

उनले तत्काल देखापरेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रुपमा चाल्नुपर्ने नीति, कार्ययोजनाका बारेमा निजी क्षेत्रसँग छलफल भइरहेको बताए ।

उनले सामूहिक प्रयासबाट अहिलेका सम्पूर्ण समस्याको समाधान गर्न सकिने बताए । उनले शिखर सम्मेलनले आगामी आर्थिक वर्षको बजेट तयार गर्न सहज बनाउने विश्वास व्यक्त गरे ।

उनले वर्तमान अवस्थामा नेपालमा आर्थिक स्थिति सुदृढीकरण हुँदै गएको बताए । कृषिलाई उच्च प्राथमिकता दिएर मात्रै देशको समग्र उद्योग र अर्थतन्त्रलाई सुदृढीकरण गर्न सकिने बताए । उनले कृषिमा क्रान्तिकारी सुधार आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया