२५६७औँ बुद्ध जयन्ती : प्रधानमन्त्री प्रचण्ड भन्छन्- मेरो जीवन सम्राट अशोकसँग मेल खान्छ
अखबार टुडे
प्रकाशित:
२०८०, २२ बैशाख

रुपन्देही, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धका अनुयायी सम्राट अशोकको जीवनसँग आफ्नो जीवन मेल खाने बताएका छन् । २५६७औँ बुद्धपूर्णिमा एवं लुम्बिनी दिवसको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको बताउँदै यस्तो दावी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तराद्र्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ ।’

प्रधानमन्त्री प्रचण्डले आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पुरक रहेको उनको भनाइ छ ।

उनले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको पुष्टि गर्ने समेत बताए । बुद्धका शिक्षाबाट आफू प्रभावित मात्र नभएर त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरिरहेको उनले दावी गरे ।
प्रधानमन्त्री प्रचण्डले ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने भन्दै नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेरमात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन तर पनि नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेरमात्र ज्ञान÷विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्ने छ ।’

मानव जातिले विश्वभरी आर्जन गरेका ज्ञान र दर्शन सबै मानव जातिका साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली दर्शनको वैभवशाली इतिहासलाई प्रचारप्रसार प्रवद्र्धन गर्ने काममा नेपाली बौद्धिक समुदायले ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो आफ्नै मौलिक दर्शन र चिन्तनलाई नजरअन्दाज गरेर हाम्रो दर्शन संस्कृति र सभ्यताको यात्रामा सफलता प्राप्त गर्न सकिँदैन, हाम्रो संस्कृति र सभ्यताको प्रवर्द्धन गर्ने प्रचारप्रसार गर्ने काम हाम्रै बौद्धिक समुदायको हो ।’

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास गुरूयोजना पूरा गर्न प्राथमिकता दिने बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता सम्पन्न भएको मूल समारोह पूर्व लुम्बिनीमा बिहान शान्ति ¥याली निकालिएको थियो ।

प्रतिक्रिया