नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, २० बैशाख

काठमाडौं, २० बैशाख । प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई पक्राउ गरेको हो ।

प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । राईमाथि तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

बादल गृहमन्त्रीबाट हटेपछि बालकृष्ण खाँण गृहमन्त्री भए, उनकै जोडबलमा पाण्डेलाई गृह सचिव बनाइएको थियो । पाण्डेमाथि पनि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

यो प्रकरणमा इन्द्रजित राईका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन् ।यसअघि प्रहरीले अरू पाँच जनालाई पक्राउ गरिसकेको छ । दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेका थिए ।

प्रतिक्रिया