माओवादीले पीडा दिएको बताउँदै माधव नेपालले भने- गठबन्धन धरापमा पर्न सक्छ
अखबार टुडे
प्रकाशित:
२०८०, २० बैशाख

काठमाडौं, २० वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिएका छन् ।

बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादीले पीडा दिएको बताउँदै अध्यक्ष नेपालले गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिएका हुन् ।

गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै उनले कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले भने, ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन । गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताएका छन् । ‘जनतालाई खुसी बनाउनुपर्छ भन्ने मेरा चाहना हो, समाज समृद्ध भएपछि मात्र सबै प्रसन्न हुन्छन्,’ उनले भने, ‘हाम्रो पार्टी नयाँ अभियानका साथ अघि बढीरहेको छ, भ्रष्टाचारलगायत सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिने हाम्रो प्रयास हो ।’

प्रतिक्रिया