यूएईलाई हराउँदै नेपाल एसिया कपमा, भारत र पाकिस्तानसँग खेल्ने
अखबार टुडे
प्रकाशित:
२०८०, १९ बैशाख

काठमाडौं, १९ वैशाख । नेपाल यसैवर्ष (आउँदो सेप्टेम्बर) पाकिस्तानमा हुने भनिएको एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो ।

यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा भेट्टायो । नेपाल सात विकेटले विजयी भयो । आजको खेलमा नेपालका गुलसन झाले अविजित सर्वाधिक रन ६७ बनाए । त्यस्तै भीम सार्कीले ३६ रन जोडे । यूएईको लागि रोहन मुस्ताफाले २ तथा आयान खानले १ विकेट लिए ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अल आउट भएको थियो । हिजो वर्षाका कारण २७ ओभर ३ बलमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा यूएईले आज ११ रन जोड्ेको हो ।

यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए ।

अब कुनै कारणले एसिया कप प्रभावित नभएमा आयोजक पाकिस्तानसहित भारत, श्रीलंका, बङ्लादेश, अफगानिस्तान र एसीसी प्रिमियर कपको उपाधि विजेता नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया