पूर्व गृहमन्त्री ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १९ बैशाख

काठमाडौं, १९ वैशाख । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।

राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले बताएको छ । राईविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘बादल’ गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार रहेका थिए ।

यो प्रकरणमा यसअघि प्रहरीले अरू पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेका थिए । राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ ।

प्रतिक्रिया