लिम्बू विद्यार्थी मञ्चको १०औँ महाधिवेशन बैशाख २५, २६ र २७ गते म्याङलुङमा हुने
अखबार टुडे
प्रकाशित:
२०८०, १९ बैशाख

काठमाडौं, १९ बैशाख । लिम्बू विद्यार्थी मञ्चको १०औँ राष्ट्रिय महाधिवेशन तेह्रथुमको सदरमुकाम म्याङलुङमा हुने भएकोछ । यही बैशाख २५, २६ र २७ गते म्याङलुङमा राष्ट्रिय महाधिवेशन हुने निश्चित भएको वर्तमान केन्द्रीय अध्यक्ष दीपा लक्सम लिम्बूले जानकारी दिएकी हुन् ।

‘मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र स्वयत लिम्बुवान’ भन्ने नाराका साथ हुन गइरहेको महाधिवेशनमा पूर्वका नौ जिल्ला र काठमाडौं उपत्यका तथा चितवनसहित क्याम्सप इकाईहरुको सहभागिता रहने छ ।

प्रदेश १ मा पहिचानको आन्दोलन भइरहेको बेला लिम्बू विद्यार्थी मञ्चले केन्द्रीय राष्ट्रिय महाधिवेश म्याङलुङमा गर्न लागेको हो । प्रदेशसभाले प्रदेश १ को ‘कोशी’ नामांकन गरेसँगै विभिन्न पहिचानवादीहरुसँगै मञ्चले विमति जनाउँदै आन्दोलन गर्दै आएको छ । यस महाधिवेशनले जारी पहिचान पक्षधरको आन्दोलनमा लिम्बू विद्यार्थी मञ्चले कसरी प्रस्तुत हुने भन्ने कार्ययोजना पनि तय गर्ने बताइएको छ ।

लिम्बू विद्यार्थी मञ्चले स्थापनाकालदेखि नै लिम्बू भाषा लिपी र सरकारी कामकाजमा लिम्बू भाषाको समेट्नुपर्ने आवाज उठाउँदै आएको अध्यक्ष दीपाले बताइन् ।

नयाँ कार्यसमिति चयनका लागि हुने यस १०औँ राष्ट्रिय महाधिवेशन सम्पूर्ण तयारी पूरा भएको पनि अध्यक्ष दीपाले बताइन् । जसपाकी नेतृ समेत रहेकी दीपाले दोस्रो कार्यकालका लागि आफैं अध्यक्ष हुने संकेत समेत गरेकी छन् ।

अध्यक्ष दीपाले भनिन्, ‘अहिलेसम्म केन्द्रीय अध्यक्षसहित पदाधिकारीका लागि कसैले उम्मेदवारी दावी गरेका छैनन् । त्यसैले महाधिवेशनकै समयमा मेरो पनि दावी हुन सक्छ । तर, अहिलेसम्म कुनै निर्णय गरेकी छैन । सकेसम्म अरुलाई नै नेतृत्व सुम्पने सोच छ ।’

मञ्चको नवौँ महाधिवेशन ताप्लेजुङको सदरमुकाम फुङलिङमा भएको थियो । उक्त महाधिवेशनले नै दीपा लक्समको अध्यक्षतामा केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

प्रतिक्रिया